शेखर कोइरालाको वरियता क्रम २० औं नम्बरमा


नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो ।

सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो । कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए ।

काँग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धा मा दोस्रो भएको शेखरलाई २० औं नम्बरमा राखिएको छ । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् । वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औं नम्बरमा थियो । १४ औं मा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन् । शेखरलाई २० औं वरियतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नुपरेको थियो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार पौने २ बजे सुरु भएको बैठक १५ मिनेटमै सकिएको हो ।

बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा राखेका थिए । उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’भनेका थिए । पहिलो बैठक १५ मिनेटमै सकिएको हो ।