बागलुङ, पुस १० गते । कालिका भगवती गुठी बागलुङले मासिक आम्दानी खर्च विवरण सार्वजनिक गर्न थालेको छ । मन्दिरमा संकलन हुने भेटी, दान दक्षिणा, भाडालगायतको शीर्षकमा जम्मा हुने आम्दानी रकम र प्रशासकीय खर्चको मासिक विवरण नियमित सार्वजनिक गर्न थालेको हो ।
मन्दिरको सबै गतिविधिलाई पारदर्शी बनाउने उद्देश्यले आम्दानी खर्च सार्वजनिक गर्न सुरु गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खडकाले बताउनुभयो । अध्यक्ष खडकाकाअनुसार मन्दिरमा मंसिर महिनामा ३१ लाख ४३ हजार २४९ रुपियाँ आम्दानी गरेको छ ।
मन्दिरमा भेटीबापत ११ लाख ६१ हजार ७१०, परेवा विक्रीबाट पाँच लाख १३ हजार छ सय, चामल विक्रीबाट ५७ हजार छ सय, बोका मुडबाट एक लाख ४० हजार ६४०, कुखुरा मुडबाट आठ हजार ८२०, राँगा मुडबाट छ हजार छ सय, रुख विक्रीबाट पाँच हजार, सिक्का १२ हजार, आर्थिक सहयोग ३६ हजार २४६, विवाह गरेबापतको शुल्क २४ हजार पाँच सय, ब्रतबन्धबाट नौ सय, पिकनिक स्थल शुल्कबाट १८ हजार र गुठी व्यवस्थापन समितिले निर्माण गरेको भवनको भाडाबाट ११ लाख ६४ हजार ३३ हजार रुपियाँ प्राप्त गरेको छ ।
गुठी व्यवस्थापनमा नयाँ समिति आएपछि आम्दानी खर्च सार्वजनिक गर्न थालेको हो । एक महिना अवधिमा उपदान, स्टेशनरी, विद्युत, खाद्यान्न लगायतका शीर्षकमा १३ लाख पाँच हजार ९४ रुपियाँ खर्च भएको अध्यक्ष खडकाले बताउनुभयो । गुठी व्यवस्थापन समितिको नाममा हालसम्म चार करोड ३१ लाख एक हजार ५५१ रुपियाँ बैक मौज्दात छ ।
कोरोना संक्रमितको दर घट्दै गएपछि मन्दिरमा दैनिक भक्तजनको चाप बढ्दैगएको छ । मन्दिर प्रवेशमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । भक्तजनको घुँईचो हुने दिन प्रहरी तथा मन्दिरमा कार्यरत कर्मचारी प्रयोग गरेर सामाजिक दूरी कायम गर्दैआएको अध्यक्ष खडकाले बताउनुभयो । विशेषगरी हिन्दु धर्म मान्नेहरुका लागि कालिका भगवती मन्दिर एक महत्वपूर्ण स्थान हो । यहाँ नेपालको विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत हजारौ दर्शनार्थी आउने गर्छन् । कालिका भगवतीप्रति आस्था र विश्वास राखेर पुजापाठ, भाकल गरेको आँटेको काम पुग्ने जनविश्वास छ ।
बागलुङ नगरपालिका–२ मा अवस्थित मन्दिर तत्कालिन पर्वतका राजा प्रतापी नारायण मल्लले वि.स १५९१ मा पाल्पाका राजा मणी मुकुन्दसेनकी छोरीसँग विवाह गर्दा उहाँकी श्रीमतीले माझकी देवी दाईजो ल्याएको र पाल्पाबाट पर्वत ल्याउनेक्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँमा विसाएर उठाउँदा नउठेपछि राजादम्पत्तीयले यहाँ मन्दिर स्थापना गरी पूजापाठ गर्न थालेको इतिहास छ ।