माओवादी महाधिबेशनमा प्रतिनिधिलाई खाजाको मात्रै व्यवस्था


नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।

आयोजकका अनुसार प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएपनि खाजा पार्टीकोषबाटै व्यवथाा हुने छ ।

महाधिवेशनको व्यवस्थापनमा सहभागीलाई खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । हरेक दिन खाजाको मेनु फरक–फरक रहने छ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनमा १६ सय बढी प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशनको उदघाटन समारोह आज अपराह्न तीन बजे प्रज्ञा भवन कमलादीमा हुने छ । त्यसपछि सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन पेश हुनेछन् । प्रतिनिधिहरुलाई समूहमा विभाजन गरेर प्रतिवेदनमा छलफल गरिने छ ।

महाधिवेशन पाँच दिनसम्म चल्ने अनुमान छ । यसअघि राष्ट्रिय सम्मेलन गर्ने निर्णय हुँदा पुस ११ देखि १३ गतेसम्म सन्चालन हुने भनिएको थियो । माओवादीले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।