पूर्ण मात्रा खोप लगाउने १ करोड नाघे


देशभर २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हजार ८ सय ८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

यही अवधिमा थप २ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३ सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

हालसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७ सय ९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ । सरकारले चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ ।