इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो


काठमाडौं, पुष १३। इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितेको छ । आज (मंगलबार) बिहान सकिएको तेस्रो टेस्टमा एक इनिङ र १४ रनको जित हात पारेसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङखला जितेको हो ।

मेलवर्नमा तेस्रो टेस्टको तेस्रो दिनमै अष्ट्रेलियाले इंग्ल्याण्डका बाँकी ३ विकेट लियो । दोस्रो पालीमा ७ विकेट गुमाएर ६१ रनको अवस्थाबाट तेस्रो दिनको ब्याटिङ थालेको इंग्ल्याण्डले थप ७ रन जोड्दा तीन विकेट गुमाएको हो । पहिलो पालीमा इंग्ल्याण्डले १८५ रन बनाउँदा अष्ट्रेलियाले २६७ रन बनाएको थियो । यसअघिका दुई टेस्ट पनि अष्ट्रेलियाले जितेको थियो ।