काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात


काठमाडौं, पुष १४। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातसँगै चिसो झनै बढेको छ ।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ । भोलि बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ ।

यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।