विश्वभरको दैनिक कोरोना संक्रमण सबैभन्दा उच्च


ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाभाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ।वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो। मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजार, फ्रान्समा १ लाख ७९ हजारमा संक्रमण भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ।

अमेरिका र युरोपमा अहिले कोरोनाको चौथो लहर चलिरहेको छ। यसअघिका तीन लहरको उच्च हुँदा पनि एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। यसअघि ८ जनवरी २०२१ मा एकैदिन ८ लाख ४४ हजार संक्रमित थपिएका थिए। त्यसपछि घटेको संक्रमण अप्रिलमा फेरि बढेको थियो।

अप्रिल २९ मा संसारभरि ९ लाख ४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जुलाईमा घटेर एकदिनमा चार लाखभन्दा मूनि पुगेको संक्रमण अगस्टमा फेरि बढेको थियो। अगस्ट २० मा विश्वभरि ७ लाख २३ हजार मानिस संक्रमित भएका थिए।

त्यसयता लगातार घटेको संक्रमण गत अक्टोबरदेखि बढ्न थालेको हो। नोभेम्बर अन्तिम साता दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेको थियो। त्यसपछि संक्रमण लगातार बढिरहेको छ।

डेल्टा भेरियन्टले निकै क्षति पुर्‍याएको छिमेकी भारतमा पनि फेरि कोरोना संक्रमण बढ्न थालेको छ। बिबिसी हिन्दीका अनुसार बुधबार ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। मंगलबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।

संक्रमण बढे पनि ओमिक्रोनका कारण मृत्युदर भने बढेको छैन। २०२० को अप्रिलमा संसारभर दैनिक ७÷८ हजार कोरोना संक्रमितले ज्यान गुमाएका थिए। २७ जनवरी २०२१ मा एकैदिन १७ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको थियो। अप्रिल २९ मा १५ हजार ८ सय ७६ मानिसले ज्यान गुमाएका छन्। अगस्ट २५ मा ११ हजार ८ सय ७० संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो समय संक्रमित ह्वात्तै बढे पनि मृत्युदर भने कम छ। पुस १३ गते एकैदिन अहिलेसम्मकै बढी संक्रमित थपिँदा ज्यान गुमाउनेको संख्या भने ६ हजार ८ सय ९९ छ।

संसारभरि खोप लगाउने मानिसहरू बढ्दै गएकाले ओमिक्रोनबाट संक्रमणको तुलनामा ज्यान गुमाउने कम भएका हुन्। दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डका वैज्ञानिकहरूले केही दिनअघि सार्वजनिक गरेका छुट्टाछुट्टै अध्ययनले ओमिक्रोन निकै संक्रामक भए पनि डेल्टा भेरियन्टजस्तो घातक नभएको देखाएका थिए।

संक्रमितलाई सिकिस्त नपार्ने भए पनि संक्रमण निकै तीव्र गतिमा फैलिने भएकोले ओमिक्रोन अझै पनि संसारका लागि गम्भीर खतरा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।