उल्टो हिँडेर मेची–महाकाली यात्रा


गिनीज बुक होल्डर दाङका ऋषि परियारले माघ १५ गतेदेखि उल्टो हिँडेर मेची–महाकाली यात्रा गर्ने र अर्को किर्तीमानी कायम गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो फरक क्षमता देखाएर विश्वसामु देशको नाम राख्ने उद्देश्यले आफुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँड्ेर यात्रा गर्न लागेको जानकारी दिएका हुन् ।

‘स्थास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ आफुले सुरु गर्न लागेको उक्त अभियान सफल बनाउनको लागि पनि उनले सबैलाई साथ र सहयोग गर्नसमेत आग्रह गरेका थिए । ‘पैसामात्र सहयोग हुन्छ भन्ने होइन्, यात्राको क्रममा मलाई बस्ने बासदेखि खानाको सहयोग पनि गर्न सक्ने बताएका छन् । उनले सहयोग गर्न चाहनेहरुले आफ्नो ‘ऋषि परियार’ नामक फेसबुकमार्फत पनि जोडिन सक्ने बताए ।

यस्तै, अभियानको क्रममा सुरक्षाको लागि गृह मन्त्रालयले व्यवस्था गरेको पनि जनाए । यसअघि उनले सन् २०२०मा ‘दी मोस्ट जम्पीङ ज्याक्स इन् वान मिनेट’ को टाईटलमा गिनीज बुकमा नाम लेखाईसकेका छन् । उनले अब सुरु गर्ने उल्टो हिँडाईले पनि गिनीज बुकमा नाम दर्ज गराउन चाहेको बताए ।

पुर्वको मेची पुलदेखि पश्चिमको कञ्चनपुरसम्म उनले आफ्नो यात्रा गर्ने छन् । यो यात्रा एक हजार २७ किलोमिटर रहेको भन्दै उनले आफ्नो यात्रा अवधि दुई महिनाको हुने पनि जनाए ।