नयाँ दल दर्ता गर्दै रेशम चौधरी


काठमाडौं, पुष १५। टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठहर भई हाल जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्न लागेका छन् । निलम्बित सांसद समेत रहेका चौधरीले आफ्नै नाममा नयाँ दल दर्ताको तयारी थालेका हुन् । यदि उनको नाउमा निर्वाचन आयोगले दल दर्ता गर्न नमानेमा वा नदिइएमा राज थारुको नाममा दर्ता गरिने जनाइएको छ ।

‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइएको उक्त नयाँ दलको नेतृत्व हाल राज थारुले नै गरिरहेका छन् । यद्यपि रेशम चौधरी मुख्य भए पनि उनी जेलमा रहेकाले वैकल्पिक नेतृत्व खडा गरिएको जनाइएको छ । यही पुस १९ गते साेमबारकाे दिन दल दर्ताकाे तयारी रहेकाे राज थारूले न्यूज २४ लाई बताए ।

दर्ताको लागि आइतबारदेखि मंगलबार सम्म तीन दिन काठमाडाैँमा मुख्य स्थानहरूमा दलकाे ब्यानर, प्लेकार्ड तथा बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको उक्त पार्टीले जनाएको छ । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन काठमाडौँका प्रमुख जिल्ला अधिकारीसामु पत्राचार समेत गरिएको छ ।