धितोपत्र बोर्डमा फेरी अध्यक्ष छानिने


काठमाडौं, पुष १५।लामो समय वितिसक्दा समेत नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकार असफल भएको छ । सरकारले पुनः नयाँ आवेदन खुलाउदै अध्यक्षको छनौट प्रक्रियामा लागेको हो । अर्थ मन्त्रालयले आज एक सुचना जारी गर्दै पुस २९ गतेभित्र आवेदन दिन सकिने जानकारी दिएको हो।

यस अघि गठित छनोट समितिको वैधतामाथि प्रश्न उठेपछि मन्त्रिपरिषद बैठकबाट नयाँ समिति गठन भएको हो। नयाँ छनौट समितिको नेतृत्व पनि योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले नै गरेका छन्।

अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुषाल रहेका छन्। कात्तिक ७ गते गठन भएको पूर्व समितिले आव्हान गर्दा १२ जनाले आवेदन दिएका थिए। गत कात्तिक ११ गतेदेखि १५ दिनको समय दिएर आवेदन खुलाइएको थियो।

त्यसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए।

धितोपत्रमा तीन महिनादेखि अध्यक्ष नहुदाँ अरवौ रुपैयाँ बराबरका दुई दर्जन भन्दा बढि प्राथमिक शेयरहरु आईपिओ खोल्ने काम रोकिएको छ । जसको कारण सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर परेको छ ।

अर्थ मन्त्रालयमाथि राष्ट्रिय योजना आयोग हावी हुदाँ अध्यक्ष छनौटमा समस्या भएको हो । अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाकी पतनी तथा नेपाली काग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अध्यक्ष नियुक्तिमा चासो राख्दै आएका कारण ढिलाई भएको छ ।