माओवादी महाधिवेशनको बन्द सत्रमा समूहगत सुझाव राख्ने क्रम जारी


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार बिहानबाट सुरु भएको छ। बन्द सत्र विहान ११ बजेबाट सुरु भएको हो। अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराको निर्देशनमा अध्यक्ष मण्डलका सदस्य पूर्णाकुमारी सुवेदीले बन्द सत्र सञ्चालन गरिरहनुभएको छ।

महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राख्नुभएको छ।

आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राख्नुभयो। सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राख्नुभएको छ।

यसैगरी समूह नं.२२ बागमती प्रदेशको तर्फबाट इन्द्रबहादुर थिंग छिन्तांग, समूह नं. ११ गण्डकी प्रदेशको तर्फबाट देबेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहका तर्फबाट नन्दकुमार प्रसाई र समूह नं. ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगरले दस्तावेज र विधान मस्यौदामाथिको छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएको छ।

महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो। बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए। दिउँसो २ बजेसम्म ९ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिसकेका छन्। अब ५ वटा समूहको प्रस्तुति बाँकी छ। छलफल सकिएपछि मात्र नेतृत्व निर्वाचनको विषयले प्रवेश पाउने भएको छ ।