‘ए’ डिभिजन लिग: आर्मी र एपीएफ भिड्दै


काठमाडौं, पुष १६। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट सातौं चरणका खेलहरु सुरु हुँदैछ ।लिगको सातौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एपीएफलाई रेलिगेसनको डर अझै रहेको छ ।त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । तर, बलियो आर्मीविरुद्ध एपीएफलाई जित निकाल्न कठिन हुनेछ ।यता, आर्मी जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । एएफसी कप छनोटको दौडबाट बाहिरिसकेको आर्मी उपाधि होड भने कायम राख्न चाहन्छ ।

आर्मी ६ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एपीएफलाई हराउन सकेमा आर्मी शीर्ष तीन भित्र उक्लने छ।यस्तै दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । फ्रेन्ड्स र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टिम हो । तर, आज एनआरटीलाई हराएर फ्रेन्ड्स पहिलो जित निकाल्न चाहन्छ ।

एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । फ्रेन्ड्सलाई हराएर एनआरटी अंक तालिका सुधार गर्ने योजनासहित मैदान प्रवेश गर्नेछ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।