आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदै


काठमाडौं, पुष १७।आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर विशेष रुपमा मनाइदै छ । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर यो दिवस मनाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन थालिएको युवाहरुले बताएका छन् ।