प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, आन्दोलनमा गोली चल्यो


पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टी का संयोजक डा. सिके राउतका कार्यकर्ताबीच झडप भएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका– ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएको बताइएको छ ।

प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएको बताएको छ । घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले बताए । प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

हामीले पटक पटक आग्रह गर्दा पनि उनीहरूले सडक अवरूद्ध गर्दै प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि पेट्रोल भरिएको बोतल प्रहरीतर्फ प्रहार गरेका थिए। जवाफमा भिड नियन्त्रणमा लिन प्रहरीले ४ शेल रबर बुलेट र ११ शेल अश्रु ग्यास गरेको छ। केही दिनदेखि तराईका विभिन्न जिल्लामा सिके राउतका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।