समानुपातिकतर्फका माओवादी केन्द्रीय सदस्य छनौट सहमति नजिक


नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने लगभग पक्का भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन पार्टीको विधानले व्यवस्था गरेको छ । समानुपातिकतर्फ ८ वटा क्लस्टरमा सदस्य हुने छन् ।

समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ, र यसका लागि निर्वाचन हुने छैन । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको बताँइएको छ ।

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना सदस्य चयन हुनेछन् ।

सहमतिकै प्रयासमा बन्दसत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटकपटक बसेको छ । माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुनेछ ।

माओवादीमा अध्यक्ष स्वतः प्रचण्ड नै हुने भएपनि वरिष्ट उपाध्यक्ष सहित ७ उपाध्यक्ष, महासचिव, सचिव र केन्द्रिय सदस्यको लागि आकाक्षी बढि भएकाले निर्वाचनको तयारी भएको हो । पार्टीको नीति र सिद्धान्तमा लामो बहस गरेको माओवादी पार्टीले अब भने नेतृत्व छनौटमा ध्यान केन्द्रित गरेको हो ।