व्यापक प्रदर्शनपछि सुडानी प्रधानमन्त्रीद्वारा राजीनामा


काठमाडौं, पुष १९। सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् । अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए ।

प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । एउटा टेलिभिजन सम्बोधनमा हमदोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताए । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उनले दाबी गरेका छन् ।

सन् २०१९मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए । सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए ।