सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आज मात्रै सत्ता गठबन्धनले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि भागबण्डा गरेको थियो । सत्तारुढ दलको सहमतिपछि बसेको नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको जनाएको छ ।
पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्र राष्ट्रियसभाका उम्मेदवार हुने भएका छन्।
यसअघि सोमबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राष्ट्रिय सभामा भागवण्डाको टुंगो लगाएको थियो।
पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको थियो।
सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको थियो।
प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक÷ एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति गरेको थिए। नेकपा एमालेले एक सिट पनि जित्ने सम्भावना छैन ।