वैदेशिक लगानी आवश्यक रहेको अर्थमन्त्री शर्माको भनाई


अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गर्नुभएको छ । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उहाँले सो आग्रह गर्नुभएको हो ।

आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्नुहुँदै उहाँले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गर्नुभएको हो । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उहाँले भन्नुभयो, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला ।

यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’ फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्नुहुँदै समय नै सबैभन्दा ठूलो पुँजी भएको उहाँले बताउनुभयो ।

‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उहाँले भन्नुभयो, ‘मुख्य पुँजी भनेकै समय हो ।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउनुहुँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्नुहुँदै उहाँले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो ।

लगानी बोर्डको उपाध्यक्ष समेत रहनुभएका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन पनि दिनुभयो ।