इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित


काठमाडौं, पुष २०। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो । खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो ।

उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ । उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्टर युनाइटेड ३१ अङ्कका साथ साताैँ स्थानमा छ । म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्ष स्थानमा छ ।