केही दिनदेखि तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित


काठमाडौं, पुष २०। बाक्लो हुस्सु, कुहिरोका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ ।  तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । केही विद्यालयले जाडो बिदासमेत दिन थालेका छन् । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ ।

आज पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । केही ठाउँमा बेलुकासम्म नै कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि पनि बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । तराई बाहेकका जिल्लामा भने आज घाम लाग्ने अनुमान छ । आज बेलुकादेखि भने नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्नेछ । यसकै कारण भोलि र पर्सि देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही ठाउँमा भोलि र पर्सि हल्का पानी पर्ने अनुमान छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।