५ चिनी मिलको जग्गा र बैंक खाता रोक्न गर्न सरकारको पत्राचार


किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न सरकारले पत्राचार गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले रोक्का गर्ने जानकारी दिएका हुन ।

मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण, इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्न भूमी व्यवस्था, गृह र अर्थ मन्त्रालयमा पत्र लेखी पठाएको वाणिज्य सचिव भट्टराईले बताएका हुन ।

५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै उनीहरुलाई भुक्तानीमा प्रतिबद्ध गराउन हामीले काम गरिरहेका बताएका हुन । उखुको मूल्य निर्धारण गर्ने समय भएको बताउँदै उनले उखुमा देखिएको समस्याले उत्पादन घट्दै गएको बताए ।

किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको सचिव भट्टराईले बताए ।

छलफलमा राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए ।

पछिल्लो प्रतिस्थापन विधेयकमा पनि यसलाई समेट्नेबारे छलफल भए पनि तत्काल गर्नुपर्ने तयारी नपुगेको उनको भनाइ थियो । कृषि सचिव गोविन्द शर्माले उखुको मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताए ।

हरेक वर्ष उखु किसानहरुले समय चिनी मिलबाट रकम भुक्तानी नहुदाँ किसान समेत विस्थापित हुदै गएका छन् । नेपालमा ठूलो मात्रामा विदेशबाट चिनी आयात गरिने भएपनि स्वदेशी किसानको नगदे बालीको रुपमा रहेको उखु खेती किसानलाई सरकारले समयमै रकम भुक्तानी गर्न नस्कदाँ हरेक वर्ष समस्या हुने गरेको छ ।