जनकपुरधाममा दाउरा वितरण गरिने


केही दिनदेखि तराई मधेशमा अचानक बढेको चिसोले जनजीवन निकै प्रभावित बनेको भन्दै स्थानीय प्रशासन र सरकारले दाउरा विवरण गर्न थालेका छन् ।

चिसोको कारण जनजीवन प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले दाउरा एवं कम्बल वितरण गर्ने निर्णय गरेको छ ।

प्रदेश २ को धनुषा जिल्लास्थित सो उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा आगो ताप्न दाउरा वितरण गर्ने निर्णय गरेको हो ।

तराई मधेशमा बढेको चिसोले सो नगरक्षेत्रका बासिन्दा पनि प्रभावित भएका छन् । त्यसैले चिसोबाट जोगिन विशेष गरी विपन्न वर्ग, दलित, असहाय, अपाङ्ग, असक्त परिवारका लागि आवश्यकताअनुसार पायक पर्ने ठाउँमा दाउरा एवं कम्बल खरिद गरी वितरण गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणबाट जोगिन स्वास्थ्य प्रयोजनका सामाग्री खरिद गर्ने तथा विपदबाट जोगिनका लागि जनचेतनामूलक विज्ञापन सञ्चारमाध्यम मार्फत प्रसारण गर्ने निर्णसमेत बैठकले गरेको छ । केही दिनदेखि देशैभरको मौसममा बदलि भई अत्यधिक चिसो बढेको छ ।