कञ्चनपुरमा विद्युतीय राहदानी सेवा सुरु


कञ्चनपुरमा विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सञ्चालन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने काम बन्द गरेको थियो ।

एक महिनादेखि राहदानीको रोकिएको काम आजदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो । अब त्यो सेवा जिल्लाबाटै उपलब्ध गराउन थालेको हो ।
विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत सो नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ ।

विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् । कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।