पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका २४ वर्षीय समिर कार्की रहेको प्रहरीले जनाएको छ ।
वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारी विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।