विद्युत् नियमन आयोगका पदाधिकारी निलम्बित, छानबीन सुरु


विद्युत् नियमन आयोगका तीनजना पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा सरकारले छानविन समिति बनाएसँगै सबै पदाधिकारी निलम्बनमा परेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भटुवालले आयोगका अध्यक्षसहितका पदाधिकारीमाथि छानविन गर्न मन्त्रिपरिषदले समिति बनाएको छ ।
अध्यक्ष डिबी सिंह, सदस्य रामेशश्वर प्रसाद कलवार र भागिरथी ज्ञावालीमाथि छानविन शुरु भएको हो । योसँगै उनीहरु अब स्वतः निलम्बनमा परेको जनाएको छ ।
विद्युत नियमन आयोगको दफा ९ मा आयोगका अध्यक्ष वा कुनै सदस्यमा कार्य क्षमताको अभाव वा खराब आचरण भएको वा दफा ६ बमोजिम अयोग्य भएको वा ऐन बमोजिम पदीय दायित्व पूरा नगरेको देखिएमा नेपाल सरकारले त्यस्तो विषयमा छानविन गर्न एक छानविन समिति गठन गर्ने व्यवस्था छ ।

छानबिन समितिले आरोप लागेको अध्यक्ष वा सदस्यको सम्बन्धमा छानबिन गरी आफ्नो रायसहितको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ । छानविन समितिले छानविन गर्दा आरोप लागेको अध्यक्ष वा सदस्यलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनेछ ।

छानबिन समितिले अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सिफारिस गरेमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनेछ । छानबिनको कारवाही प्रारम्भ भएपछि त्यस्तो छानबिनको विषयमा टुङ्गो नलागेसम्म त्यस्तो अध्यक्ष वा सदस्यले आफ्नो पदको काम गर्न नपाउने ऐनमा व्यवस्था छ ।