विद्यालय शिक्षा, सुधार जरुरी : राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छन्।

बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताएकी हुन्।

उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन्। कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनीकरण गर्न सकिने दाबी गरिन्।

राष्ट्रपति भण्डारीले भनिन, ‘युवा युवतीहरूको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भूमिका हुन्छ। हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो। यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ।ु

विद्यालय शिक्षालाई कसरी बढीभन्दा बढी समर्थ्यवान बनाउने भन्ने कुरा सोच्ने बेला आइसकेको पनि उनले बताइन्। अहिले ३५(३६ हजार विद्यालय भए पनि कति मर्ज गर्नुपर्ने अवस्थाका, कति कमजोर पूर्वाधारका रहेको पनि राष्ट्रपति भण्डारीले बताइन्।

त्यस्तै, कतै शिक्षकहरुको अभाव त कतै शिक्षकहरुको वृत्तिको सवाल, तालिमको समस्याका यी थुप्रै कुराहरुलाई समाधान गर्नुपर्नेमा उनको जोड छ।

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताइन्। उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन्। राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन्।

महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताइन्।