बालुवाटार जग्गा प्रकरणमा सीआइबीले बुझ्यो ३ सय भन्दा बढी विरुद्धको पक्राउ पूर्जी


काठमाडौं, पुष २२। बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जना भन्दा बढी विरुद्ध जिल्ला अदालत काठमाडौं जारी गरेको पक्राउ पूर्जी बुझेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा उक्त पूर्जी सीआइबीले बुझेको हो ।

सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । विशेष अदालतमा उक्त मुद्दा चलिरहेकै बेला सीआइबीले पनि सोही प्रकरणसँग सम्बन्धित ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरिरहेको छ ।

सीआईबीले पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना उच्च पदस्थ र तीनजना व्यापारिक घरानाका ब्यक्तिहरु समेत रहेका छन् । पक्राउ पूर्जीको सूचिमा पर्नेहरुमा काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त विरुद्ध पनि रहेका छन् ।

त्यसैगरी, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्व सचिवहरु दिनेशहरि अधिकारी, युवराज भुसाल, छविराज पन्त र नारायण मलेगो पनि रहेका छन् । यस्तै भाटभटेनी सुपर मार्केटका संचालक मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जग्गा हिनामिना अभियोग लागेका तत्कालिन प्रधानमन्त्रीहरुलाई भने उन्मुक्ति दिइएको छ ।