नेपालमा कोरोना संक्रमण हुने दर निरन्तर बढ्दो, ५४० जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।

पुस १८ गते २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्‍यु भएको छ। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९ सय २५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय २ पुगेको छ भने ८ लाख १३ हजार ४ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ११ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा मात्रै ३ सय १० जना संक्रमित भएका छन् । मन्त्रालयले काठमाडौंमा २ सय २१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।