काठमाडौंको कपनमा युवायुवती मृत फेला, पब्जी मुख्य कारक


काठमाडौं, पुष २३। काठमाडौंको कपन राधाकृष्ण मन्दिर नजिकै युवायुवती मृत अवस्थामा भेटिएका छन्। मृत्यु हुनेमा संखुवासभाका २५ वर्षीय अनिश जिमी राई र खोटाङकी २२ वर्षीया युनिशा राई रहेको प्रहरीले जनाएको छ।

बिहीबार राति १२ बजे कोठाभित्र हानाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फुटाएर हेर्दा उनीहरू रगतमा लतपतिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। अनलाइन खेल ‘पब्जी’बाट साथी बनेका उनीहरू केही दिनदेखि सँगै बस्न थालेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

युवती मृत भेटिए पनि युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएको थियो। तर‚ चिकित्सकले उनलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। उनले घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई चक्कु प्रहार गरी हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको बताए।

‘उनीहरुमा पब्जी खेलको कडा लत लागेको देखियो। घटनामा प्रयोग भएको चक्कु पनि पब्जी खेलमा प्रयोग गर्ने जस्तै भेटिएको छ’, एसएसपी गिरीले भने, ‘अरु बेला पनि उनीहरुको हान् हान् मार् मार भन्ने आवाज आइरहन्थ्यो भन्ने छ।’ पब्जीबाट साथी भएका उनीहरु त्यसैका कारण ज्यान गएको हुन सक्ने प्रहरीको आशंका छ। युवककी आमासँगै खाना खाएर हाँसीखुसी सुत्न कोठामा गएका उनीहरुबीच कसरी घटना भयो भन्ने विषयमा अनुसन्धान थालिएको एसएसपी गिरीले बताए।