राष्ट्रियसभा निर्वाचनका लागि मनोनीत उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने


काठमाडौं, पुष २३। राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आज दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगले यसअघि नै उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेकोले आज नामावली प्रकाशन गर्ने जनाएको हो ।

राष्ट्रियसभाको १९ रिक्त पदका लागि आगामी माघ १२ मा निर्वाचन हुँदैछ । जसमा ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन गर्ने उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएपनि अन्तिम नामावाली भने पुस २५ गतेमात्रै सार्वजनिक हुने र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरुले पुस २४ गते अर्थात भोलिसम्ममा नाम फिर्ता लिन सक्नेछन् ।