नेप्से प्रमुखका लागि ५ जना छनोट, अन्तर्वार्ता आइतबार


काठमाडौं, पुष २३। नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन्।

परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। सो पदका लागि ११ जनाले आवेदन दिएका थिए।

छनोट भएका उम्मेदवारहरूमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन्। छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको छ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन्।

५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ बनाउने छ। श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए।

नेप्सेमा प्रमुख नहुदाँ ४ महिना देखि प्राथमिक शेयर निष्कासन समेत रोकिएको छ ।