नारायणहिटी रेष्टुरेन्ट प्रकरण : बतासले आइतबारसम्म संरचना नभत्काए मन्त्री आलेले आफैं भत्काउने


काठमाडौं, पुष २३। नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका छन् । आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसनलाई दिएको निर्देशन पालना नभए आफैं गएर भत्काउने चेतावनी दिएका हुन् ।

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ । मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।