‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै


काठमाडौं, पुष २५। सहिद स्मारक‘ए’डिभिजन लिग फुटबलको आठौं चरणमा आज (आइतबार) हिमालयन शेर्पा क्लब थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको एक मात्रै खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ । लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा आज चौथो जितको योजनामा छ भने पाँच खेलयता अपराजित थ्रीस्टार पनि जितको खोजीमा छ ।

पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।