कोरोना संक्रमण बढेसंगै माघ १५ गतेसम्म विद्यालय बन्द हुने


कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालल्े कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको बताएका छन् ।

अझै पनि सबै नागरिकलाई खोप पुग्न सकेको छैन। १८ वर्षमुनिका सबै विद्यार्थीलाई कोरोना खोप लगाउन सकिएको छैन । कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो।

हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ। नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निर्णय गरिएको बताइन्। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन्।

व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड–१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्‍मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।

उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ। परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन्। यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदा दिने गरेका छन् ।

विद्यालयमा छोटो बिदा दिने चलन भए पनि कलेजहरूमा भने लामो जाडो बिदा दिने चलन छ। कोभिड बढ्नुअघि नै त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्मलाई बिदा दिइसकेको छ। पछिल्लो एक हप्तामै नेपालमा ५ हजार भन्दा कोरोना संक्रमति भएका छन् ।