एकै दिन भारतमा १ लाख ८० हजार नयाँ कोरोना संक्रमित


छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड–१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६ सय १९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर पोजिटिभिटी रेट १३ दशमलव २९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका हुन ।

भारतमा कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २ सय १६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५ सय २९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५ सय १३ र कर्नाटकमा ४ सय ४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा समेत खुल्ला सिमानाका कारण हरेक दिन नयाँ संक्रमितको संख्यामा बढेको छ ।