म्यानमारी नेतृ सुचीलाई थप चार वर्ष जेल सजाय


म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

गतमहिना उनलाई कोभिड–१९ को मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो । पछि म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले दुई वर्ष सजाय घटाएर दुई वर्षमात्र जेलसजाय तोकिएको थियो ।

सैन्य ‘कू’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।

उनीमाथि दर्जनभन्दा बढी आरोपहरू लागेका छन् । सुचीले भने ती सबै आरोपहरू कपोकल्पित भएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएकी छन् ।