२४ घण्टामा १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ८७६ जना संक्रमित थपिए


पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २ सय ५५ जना संक्रमणमुक्त भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४ सय ५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६ सय ६ पुगेको छ भने ८ लाख १४ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ जना रहेका छन् । जसमध्ये ७ हजार २ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ८७६ जना संक्रमित

यस्तै काठमाडौं उपत्यकामा थप ८ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ।

यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६–१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२–१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०–१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।