डेढ दशकपछि पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट माल्यार्पण


सिंहदरबार मूल गेट बाहिर रहेको पृथ्वी नारायण शाहको सालिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले मङ्गलवार अपराह्न माल्यार्पण गरेका छन्।

त्यहाँ पूर्व राजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरूलगायत निकै ठूलो सहभागी भएका थिए।

शाहले यसपटक सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले सोमवारनै सार्वजनिक जानकारी गराएको थियो।

पृथ्वीनारायण शाहको तीन सयौँ जन्म जयन्ती सन्दर्भमा ज्ञानेन्द्र शाहले सोमवार एक विज्ञप्ति जारी गर्दै नेपाल विदेशीहरूको खेल मैदान बनेको टिप्पणी गरेका थिए।

तत्कालीन गोरखा राज्यमा विक्रम सम्वत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए।

गणतन्त्रकालमा शासन सत्ता सञ्चालनमा राजनीतिक दलका नेताहरूले त्रुटि कमजोरी कायम राख्दा आफ्ना पुर्खाको जन्म जयन्तीको अवसर पारेर पूर्व राजाले व्यवस्थाप्रति प्रश्न उठाउने मौका पाएको कतिपय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

दश वर्षे सशस्त्र द्वन्द्व र त्यसपछि भएको जनआन्दोलनमार्फत् नेपालमा गणतन्त्र स्थापना भएको थियो।

उक्त राजनीतिक परिवर्तन भएको डेढ दशक पुग्न लाग्दा पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्ती पारेर राष्ट्रियताका आधारहरू माथि प्रहार भइ देशको अस्तित्व समेत सङ्कटमा परेको उल्लेख गरेका हुन्।

पूर्व राजाले भनेका छन्, राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यति बेला हामी असन्तुलनको परिणाम बेहोर्दै छौँ। देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिरहेका छन्।

देशमा राष्ट्रिय एकताको धेरै प्रश्न आएकाले पहिलो पटक तीन सयौँ जन्म जयन्तीका दिन पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह गएको, शाहका सहयोगी फणीराज पाठकले बताएका छन् ।

यसअघि राजसंस्था पुनर्स्थापनाको माग गरिरहेको राप्रपा नेपालसहित कतिपय दलले राष्ट्र निर्माताको सम्मान स्वरूप पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए।

यसै वर्ष राप्रपा नेपालको अध्यक्षमा चुनिएका राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै त्यस्तो अनुरोध गरेका थिए।

पृथ्वी जयन्तीमा बिदा नदिने निर्णय अहिलेको सरकारले पनि निरन्तरता दिइरहँदा यो वर्ष कतिपय स्थानीय तहहरूले बिदा दिएका विवरण आएका छन्।

ज्ञानेन्द्र शाहको सन्देशमा आफूलाई श्री ५ महाराजधिराजका रूपमा प्रस्तुत गर्दै अहिलेको व्यवस्था निरर्थक साबित हुने उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक लोकराज बराल ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई महत्त्व दिन नहुने बताउँछन्।

उनले भने, पूर्व राजालाई आफ्नो संस्था फ्याँकिएकोमा एउटा द्वेष छ। पूर्व राजाले भने भन्दैमा महत्त्व दिनुपर्ने कुरा होइन। यहाँ हाम्रो प्रणाली विफल भएको भन्दा पनि राजनीतिज्ञहरूले प्रणालीलाई विफल बनाइराखेकाले पूर्व राजा र उनकै जस्तो विचार राख्नेहरूले बोल्न पाएका हुन्।

प्रणालीले काम नगरिरहेको भन्ने पूर्व राजाको भनाइ साँचो भएपनि एक पटक बिदा भइसकेको राजतन्त्र अब फेरि नेपालमा विकल्प बन्न नसक्ने तर्क बरालले गरे।

बराल थप्छन्, पहिला पनि नेपालमा विदेशीको प्रभाव नभएको होइन। अमेरिकीहरू यहाँ आएकै थिए। भारतीयहरू र चिनियाँहरू पनि आएकै हुन्। पहिला अरू हुन्थे तर अहिले यहाँको राजनीतिमा चिनियाँहरू र अरू अलि बढी सक्रिय देखिन्छन्। त्यो पनि यहाँका नेताहरूको कमजोरीले सम्भव भएको हो। एउटा प्रणाली राम्रोसँग चले त्यो रोक्न सकिन्थ्यो।

गणतन्त्र स्थापना भएसँगै नेपालमा चिनियाँ प्रभाव बढेको र पछिल्ला वर्षहरूमा वैदेशिक लगानी, सुरक्षा, पूर्वाधार र राजनीतिक सम्बन्ध लगायतका विविध क्षेत्रमा प्रकट भइरहेको बताउने गरिन्छ।

अझ अघिल्लो साल तत्कालीन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी भित्रको अन्तरसङ्घर्ष चुलिएको समयमा सो दल भित्रको एकता कायम राख्न अन्तिम समयसम्म बेइजिङले प्रयास गरेका विवरण सार्वजनिक भएका थिए।

चीनको संवेदनशील तिब्बत क्षेत्रसँग सीमा जोडिएको नेपालमा अमेरिका र अरू पश्चिमा देशका चासो पहिले देखि नै प्रकट हुने गरेका कतिपय परराष्ट्र मामिला विज्ञहरूले बताउने गरेका छन्।

राजनीति शास्त्रका अर्का पूर्व प्राध्यापक कृष्ण पोखरेल पूर्व राजाको पछिल्लो सोच अतिरञ्जित ठान्छन्।

उनी भन्छन्, जस्तो खालको हाम्रो भौगोलिक अवस्थिति छ, त्यसका कारण भारत र चीनको या तिब्बतको नेपालसँग सिमानामा जोडिएको हुनाले युरोपेलीहरूको या अमेरिकीहरूको राडारबाट नेपाल न हिजो बाहिर थियो न आज छ। फरक यति मात्रै हो, जति बेला लोकतन्त्र थिएन यी कुराहरू गुपचुप रहन्थे। अहिले बाहिर आए र जनताले धेरै कुराहरू थाहा पाए।

आफ्नो सत्ता गुमेकाले ज्ञानेन्द्रको एउटा एजेन्डा छ। त्यसैलाई भजाउनका लागि उनले यस्ता कुरा गरेको मलाई लाग्छ।

पोखरेलका भनाइमा यी चुनौतीहरूलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने हुन्छ।

उनले नेपालका अहिलेका शासकहरू राष्ट्र हित भन्दा बाहिर जान्छन् भन्ने आफूलाई नलागेको बताए।

नेपालमा अहिले रहेको शासन व्यवस्थाको नतिजा ुआजको भोलि नआउनेु भन्दै उनले शासक वर्गले जनतालाई एउटा सपना देखाएर त्यसको विपरीत व्यवहार देखाएकाले असन्तुष्टि प्रकट भइरहेको धारणा राखे।

ज्ञानेन्द्र शाहले विगतमा पनि विभिन्न सन्दर्भहरू पारेर राजनीतिक विषयवस्तुमा टिप्पणी गर्ने गरेका छन्।

पछिल्लो राजनीतिक परिवर्तनमा भूमिका खेलेका सत्ताधारी र विपक्षी दलका नेताहरूले बेला बेलामा उनलाई निवासबाट राजनीतिक अभिव्यक्ति दिनुका सट्टा दल खोलेर निर्वाचनमा भाग लिन चुनौती दिने गरेका छन्।

पृथ्वी जयन्तीमा कस्ता कार्यक्रम भए
पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारी पनि सिंहदरबार गेटमा पुगेकी थिइन्।

राजसंस्था पुनस्थापना र हिन्दू राष्ट्रको माग गरिरहेको दल राप्रपा नेपालले पनि र्‍याली सहित सो परिसरमा कार्यक्रम गरेको छ।

यसपटक पनि नेपाली सेना एकीकरण पदयात्रामा निस्किएको छ।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सञ्चारमाध्यमबाट कार्यक्रमबारे सुनेपछि जिल्लास्थित सुरक्षा निकायलाई सो कार्यक्रमलाई ध्यान दिँदै समन्वय गर्न भनिएको बताए।

केन्द्रीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार गृह मन्त्रालयले सोमवार मात्रै अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी सहभागी कार्यक्रमहरू नगर्न सूचना जारी गरेको छ।

नेपाली सेनाले पनि काठमाण्डूस्थित आफ्नो मुख्यालयमा एउटा विशेष कार्यक्रम गरी मङ्गलवार तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदैछ।

विभिन्न १५ भन्दा राष्ट्रबादी संघ संस्थाहरुले पुथ्वीनारायण शाहको सालिकामा माल्यार्पण तथा उनको सम्झनामा विविध कार्यक्रम आयोजना गरेका छन् । –बीबीसीको सहयोगमा