पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना


काठमाडौं, पुष २८। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो ।

आले सवार सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए । दुर्घटनामा कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर प्रस्थान गरेका थिए । ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।