कोरोना बढेसंगै पनौतीको १२ वर्षे मेला स्थगित


काठमाडौं, पुष २८। कोरोना संक्रमण तिव्र भएपछि काभ्रेको पनौतीमा १२ वर्षमा लाग्ने मकर मेला स्थगित भएको छ।

पनौतीस्थित त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने मकर मेला स्थगित गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको हो ।

कोरोना संक्रमणको जाखिम न्युनीकरण गर्न मेला निर्णय गरिएको काभ्रे प्रशासनले जनाएको छ। मेला स्थगित गरेपनि २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिइएको काभ्रे प्रशासनले जनाएको छ ।

आगामी माघ १ गतेदेखि लाग्ने मेलामा देश, विदेशबाट १ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको थियो। मेला भर्न भारतबाट जोगी तथा बाबाहरू पनौती आइसकेका छन् ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन माघ १ गते देखि एक महिनासम्म पनौतिमा मकर मेला लाग्दै आएको छ। प्रत्येक १२ वर्षमा एक पटक लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो।