खेल हेर्न कोरोना खोपको कार्ड अनिवार्य चाहिने


कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ।

जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्नेछ।

यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य रंगशलामा अरू हेर्ने जाने दर्शकले पनि अनिवार्य खोप कार्ड बोक्न पर्ने भएको हो ।

यस्तै रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले बस्नु पर्नेछ।

गृह मन्त्रालयले माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको थियो। यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ।

माघ ७ गतेअघि भने दर्शकले खोप कार्ड बिना नै रंगशालामा खेल हेर्न पाउनेछन्।

मंगलबार काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गर्दै गृह मन्त्रालयको निर्णयअनुसार संयुक्त आदेश जारी गरेका थिए।

यो विषयमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको सामाजिक सन्जालमार्फत बताएका हुन ।

गत वर्ष नेपाल सुपर लिग दर्शकबिनाको रंगशालामा खेलाइएको थियो। यो सिजनको सहिद स्मारक ए डिभिजन लिगमा भने उल्लेख्य मात्रमा दर्शकको उपस्थिति हुने गरेको छ।

जारी लिगको एकै खेलमा १० हजार सम्म टिकट बिक्री भएका छन्। लिगमा अहिलेसम्म आठ चरणका खेल सकिएका छन्। अब बाँकी रहेका पाँच चरण मध्ये नवौं चरण शुक्रबारदेखि सुरू हुँदैछ।