नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण


काठमाडौं, पुष २८। विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।

सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।

नेपाल सरकारले भने ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने बताइरहेको छ । तर, विश्व बैंक भने प्रारम्भबाटै आफ्नो प्रक्षेपणमा अडिग छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको छ ।

यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।

विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

यस्तै माल्दिभ्सले ११ प्रतिशत, भारतले ८.३ प्रतिशत र बंगलादेशले ६.४ प्रतिशत आर्थिक वृद्धिदर हासिर गर्ने बैंकको प्रक्षेपण छ ।
यता भुटानले ५.१ प्रतिशत, नेपालले ३.९ प्रतिशत, पाकिस्तान ३.४ प्रतिशत र श्रीलंकाले २.१ प्रतिशत आर्थिक बृद्धिदर हुने जनाएको हो ।
सार्क मुलुकमा सन् २०२१ को मध्यपछि कोरोनाको दोस्रो लहर कम भएको थियो । त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको प्रतिवेदनमा उल्लेख छ । यसमा औद्यागिक उत्पादनमा आधारित भारत र बंगलादेशले राम्रो संकेत देखाएका छन् ।

सार्क मुलुकमा व्यापार, आतिथ्य र पर्यटन सेवामा भने महामारी भन्दा अगाडिको स्तरमा पुग्न नसकेको देखिएको छ । माल्दिम्भसमा सन् २०२१ मा पर्यटक आगमन २२.३ प्रतिशतले बढ्दा नेपालमा गिरावट आएको थियो । श्रीलंका भने निरन्तर आर्थिक समस्यासँग जुधिरहेको छ ।

अफगानिस्तानमा भने अगस्टमा तालिवान शासन आएपछि अन्तर्राष्ट्रिय सहायता ठप्प बन्न पुग्यो । यसका साथै अन्तर्राष्ट्रिय वित्त प्रणाली र विदेशी सम्पत्तिमा समेत पुगेको क्षतिका कारण सो मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।

समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ । विश्व अर्थतन्त्रमा भने यस्तो वृद्धिदर ४.१ प्रतिशतको रहने अनुमान छ । खासगरी कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव रहने जोखिम देखिएको छ ।
नेपालमा पूजिँगत खर्च ६ महिनमा १० प्रतिशत समेत हुन नसक्दाँ आर्थिक चलयमान हुन सकेको छैन ।