अब ट्राफिकको जरिवाना मेसिनबाट तिर्न सकिने व्यवस्था


ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको हो । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था थियो ।

पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।

बुधवार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एवम् सहज होस भन्ने उद्देश्यले सो मेसिनको जडान गरेको बताएका छन् ।

प्रभु–पेका अध्यक्ष कुसुम लामाले मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने व्यवस्था रहेको बताएका छन् ।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३ सय ९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् ।