नेप्से ३० अंकले घट्यो


केही दिन यता लगातार बढिरहेको शेयर बजारमा बुधबार ‘करेक्सन’ देखिएको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर १८ सय ३ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ ।

बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँ पुगेको हो ।

साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार लगातार ७ अर्ब माथिको कारोबार भएको थियो भने मंगलबार करिब ७ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार धेरै गुमाउनेको पहिलो नम्बरमा हिमालयन उर्जा विकास कम्पनी देखिएको छ । यस कम्पनीको शेयर मूल्य ३० रुपैयाँ ९० पैसाले घटेर बुधबार ४ सय ६७ रुपैयाँमा झरेको छ । दोस्रोमा युनियन हाइड्रोपावर र तेस्रोमा जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य धेरै भट्यो । युनियनको २२ रुपैयाँले घटेर ३ सय ७६ रुपैयाँमा झर्दा जोशीको १९ रुपैयाँले घटेर ३ सय २७ रुपैयाँमा झरेको छ ।

बजार घटे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य बुधबार सर्किट लेभलमा कारोबार भएको छ । यसबाहेक मध्ये भोटेकोशी जलविद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रो, सामलिङ पावर कम्पनी लगायतका कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ ।