काेभिड-१९ : कुन-कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ ?


काठमाडौं, पुष २९। काेभिड-१९काे नयाँ भेरियन्ट ओमिक्राेन फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेकाे छ। अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेकाे हाे।

सरकारले ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई १६ मंसिरदेखि नेपाल प्रवेशमा रोक लगाइसकेकाे छ। जुन निर्णय अहिले पनि यथावत् छ।

ती देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा सरकारले विशेष व्यवस्था गरेको छ। पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागले जनाएको छ।

खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ।

यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ।

उक्त व्यवस्थाबाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने जनाइएको छ। ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ।