२४ घण्टामा ३५५३ जनामा कोरोना संक्रमण, राजधानीमै आधा बढि संक्रमित


काठमाडौं, पुष २९। पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २ सय ९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २ सय २५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३ सय ४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् । यता पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १ हजार ४ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १ हजार ५ सय ९१ र भक्तपुरमा ९ सय ६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३ सय ४० जना कुल सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३ सय ९६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १ सय ५, पर्सामा ५१, चितवनमा ६६, कास्कीमा १ सय ३१, रुपन्देहीमा ६५, सुर्खेतमा १८ र कैलालीमा ५३ जनामा संक्रमण पुष्टि भएको छ । हाल ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा उपत्यकाका ३ जिल्लासहित कास्की र मोरङ रहेका छन् ।

यस्तै २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् । यता मुगु जिल्ला संक्रमणमुक्त छ ।
सरकारले कोरोना भाइसर संक्रमण नियन्त्रयमा खासै पहल नगरेको भन्दै सरकारी स्तरबाट निकै आलोचना भएको छ ।