पाँच महिना ३ खर्ब ८८ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रियो


चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। नेराल राष्ट्र बैंकको मासिक तथ्याङकले मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो ।

गत वर्षको तुलनामा भने यस वर्ष रेमिट्यान्स घटेको छ। केन्द्रीय बैंकले वार्षिक रुपमा तुलना गर्दा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्स घटेको थियो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या बढेर १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले बढेर ९९ हजार ५ सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले घटेर ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।