कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी


काठमाडौं, माघ ०१। सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सरकारले एक महिने आदेश जारी गरेको हो । आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश छन् ।

यस्तै, सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ । कलेज तथा स्कुलको नियमित पठनपाठन भर्चुअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।