जापान जाने नेपाली अनिवार्य तिन दिन क्वारेन्टिन बस्नुपर्ने


जापान प्रवेश गर्ने नेपालीले आइतबार मध्यरातदेखि अनिवार्य तीन दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । जापानले कोरोना रोकथामसम्बन्धी नीतिहरुमा संशोधन गर्दै नेपालबाट जापान प्रवेश गर्नेहरुले पनि तीन दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम नेपालमा समेत रहेको भन्दै जापानले नेपालबाट जापान प्रवेश गर्नेहरुका लागि नयाँ नीति लागू गर्न लागेको बताएको हो । संशोधित नीति १६ तारिखदेखि लागू हुनेछ जापान सरकारले जनाएको छ ।

जापानले कोरोना संक्रमणलाई रोक्न हाल लागू गरिएको सिमा नियन्त्रणसम्बन्धी नीतिहरुमा परिवर्तन गरेसंगै भारत, थाइल्याण्ड, मेक्सिको र मंगोलियाबाट जापान प्रवेश गर्नेहरुले पनि तीन विमानस्थलको सरकारी क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

जापानले अघिल्लोपटक क्वारेन्टिन नीति परिवर्तन गर्दा भारतको तामिल, केरालालगायत दिल्लीका केही भागहरुलाई लक्षित गर्दै ३ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो । अब नयाँ नीतिअनुरुप तीन दिन क्वारेन्टिन बसेपछि १० दिन होम आइशोलेसनमा बस्नुपर्नेछ । यसअघि १४ दिन आइशोलेसमा बस्नुपर्ने नियम थियो ।

जापानले मान्यता दिएका खोप लगाएका यात्रुहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढेको छ ।