पाल्पाको रानीमहल सङ्ग्रहालयमा रुपान्तरण


नेपालकै ताजमहलका रूपमा चिनिएको पाल्पाको रमणीय रानीमहल दरबार सङ्ग्रहालयका रूपमा रुपान्तरण भएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री अहिले पनि सुरक्षित रुपमा राखिएको छ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट सिसि क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन भएको बताएका छन् ।

१५ लाख रुपैयाँबाट थालनी भएको काम हालसम्म ३५ देखि ४० लाख रुपैयाँ खर्च भइसकेको नगरप्रमुख शाहीले बताएका छन् । सो रकम थप व्यवस्थापनका लागि अपुगे बजेट भएकाले बजेट बढाउँदै जाने बताएका छन् ।

उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोड रुपैयाँ भन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए ।

नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्न सकिएको बताए। उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको बताए।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ।

विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए। चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ। धार्मिक र पर्यटकीय रूपले महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा छ।